आठराई गाउँपालिका-६ चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसमा चार कोठे प्रशासनिक भवन निर्माण हुने भएको छ । क्याम्पस रहेको स्थानीय तह आठराई गाउँपालिका र कोशी प्रदेश सरकारको बजेटबाट क्याम्पसले ७१ लाख लागतमा चार कोठे प्रशासनिक भवन बनाउन लागेको हो ।आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिका र प्रदेश सरकारले क्याम्पस भवनका लागि बजेट विनियोजन गरेका छन् । क्याम्पसमा बुधबार पुगेका गाउँपालिकाका जनप्रतिनिधिले क्याम्पसको भौतिक, शैक्षिक, प्रशासनिक लगायत विषयहरुमा जानकारी लिएर छलफल गरेका थिए । त्यसक्रममा गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले गाउँपालिकाको गहनाको रुपमा क्याम्पसलाई थप व्यवस्थित गरी शैक्षिक उन्नयनका लागि स्थानीय सरकार सकारात्मक रहेको बताउनु भयो । क्याम्पसमा गाउँपालिका उपाध्यक्ष बलिराज इङनाम, वडा नं ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा लगायत जनप्रतिनिधिहरु क्याम्पसमा पुगेका थिए ।भवन निर्माणकालागि प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले २१ लाख रुपैयाँ बजेट विनियोजन गरेर क्याम्पसलाई सहयोग गरेकोमा जनप्रतिनिधिहरुलाई क्याम्पस प्रमुख पोष्टराज लामिछानेले धन्यवाद दिनुभयो ।